Karnali Media
२०८३ असार १ , सोमबार

सिंजामा खस सभ्यताबारे बहस



जुम्ला,  नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ ।
लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३आँै सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिंजा सुन, हिरा र मोतीमाथिको खजना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार आचार्यले सिंजाको सभ्यता संरक्षणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सिंजामा प्रस्तुत कार्यपत्रमा डा शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मष्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरुको उपस्थिति रहेको थियो । बहससँगै खससभ्यताका सांस्कृतिक कलाहरु प्रस्तुत गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।
लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा धु्रवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डितसहित २२ जना प्राज्ञिक व्यक्तित्वहरु र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालीकोट, जुम्लाको सिंजा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ ।
सिंजाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाइँनाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार