कर्णालीलाई विचार र विमर्शका माध्यमबाट समृद्ध बनाउन थालिएको कर्णाली उत्सव कुडा कर्नालीका’ सोमबार सुरु हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको तयारी पूरा भएको आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।
कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको उत्सवका संयोजक कमल लम्सालले बताए । ‘परम्परागत रुपमा हुने कचहरी वा बैठकको आधुनिक रूप हो कर्णाली उत्सव । कर्णाली उत्सवका माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृंखला थालनी गरेका हौं,’ लम्सालले भने, ‘यसले मूलतः कर्णालीलाई केलाउँछ, समुद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिन्छ र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ ।’
ऋति फाउन्डेसनले थालेको सामाजिक अभियानमा विभिन्न तहका सरकार गैरसरकारी संघ संस्था, व्यावसायिक प्रतिष्ठान, प्रबुद्ध व्यक्तिहरु तथा नागरिक समाजको ठूलो सहयोगले कर्णाली उत्सवको पाँचवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भैसकेको संयोजक लम्सालले बताए ।
‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो । विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीहरूले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक वहसलाई संस्कारको रुपमा विकास गर्न सघाउँछ । सबैलाई थाहा भएकै कुरा हो– कुनै पनि कामको सुरुवात विचारबाटै हुन्छ । हामी त्यही विचारचाट प्रेरित छौं । उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उठेका कुराकानीहरूले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गरोस् भन्ने नै हाम्रो लक्ष्य हो,’ लम्सालले भने ।
कर्णाली उत्सवको आयोजना स्वयंसेवी एवं स्वःस्फूर्त ढङ्गले हुने उल्लेख गर्दै उनले उत्सवमा हुने सबैजसो खर्च प्रस्तावना आह्वानका आधारमा प्रायोजक तथा साझेदारहरुले व्यहोर्दै आएको बताए । कर्णाली उत्सव कुडा कर्णालीकाको छैटौं संस्करण फागुन ५, ६ र ७ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा आयोजना हुनेछ ।







संवाददाता । आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित