वीरेन्द्रनगर । सुर्खेतमा तीन दिने फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा फोटो प्रदर्शन हुन लागेको हो ।
प्रदर्शनीको देशव्यापी यात्रा अन्तर्गत फागुन २६, २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनी राखिएको छ ।
पहिलो चरणमा वीरगंज र जनकपुरको सफलतापछि दोस्रो चरणमा सुर्खेत र नेपालगन्जमा प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।

दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत् नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शन यात्रा थालिएको हो । यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा हुन लागेको प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरमा हुनेछ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ । प्रदर्शनी खुला र निःशुल्क हुनेछ ।
संवाददाता । शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित