काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा राजसंस्थाको पुनःस्थापनाका लागि राजावादी शक्तिहरू सडकमा उत्रिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका विभिन्न समूहहरूले देशभर प्रदर्शन गर्दै शक्ति प्रदर्शन गरिरहेका छन् । विशेष गरी पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको सम्बोधनपछि राजसंस्थाका समर्थकहरू थप सक्रिय भएका छन् । उनले राष्ट्रको भलोका लागि आफूलाई साथ दिन आग्रह गरेपछि राजावादी शक्तिहरू जुर्मुराउन थालेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशले यो आन्दोलनलाई झन् उर्जा प्रदान गरेको देखिन्छ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा देखिएको समर्थन गणतन्त्रवादी शक्तिहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ । सडकदेखि सामाजिक सञ्जालसम्म राजसंस्थाको पक्षमा आवाज उठ्न थालेको छ । गणतन्त्रका नाममा सरकारद्वारा भइरहेका कमजोरीहरूप्रति जनताको आक्रोश देखिँदै गएको छ ।
राप्रपाले आयोजना गरेका पछिल्ला केही सभाहरूमा उल्लेख्य संख्यामा जनताको सहभागिता देखिएको छ । पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंसम्म गरिएको शक्ति प्रदर्शनले गणतन्त्र पक्षधरहरूलाई झस्काएको छ । कतै यस आन्दोलनले राजसंस्थाको पुनरागमनको वातावरण त तयार पार्दै छैन भन्ने चिन्ता समेत व्यक्त हुन थालेको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजालाई नियन्त्रणमा लिनुपर्ने सम्मको अभिव्यक्ति दिएका छन् । तर, पूर्वराजाले पुनःसिंहासनमा फर्कन चाहने स्पष्ट संकेत दिएका भए पनि त्यसका लागि स्पष्ट रणनीति भने सार्वजनिक गरिसकेका छैनन् ।
राप्रपा अहिले सबै राजावादी शक्तिहरूलाई एकत्रित गर्न प्रयासरत छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा यस विषयमा छलफलहरू चलिरहेका छन् । मिश्रले पूर्वराजासँग समेत संवाद अघि बढाइसकेको बताइन्छ । २५ फागुनमा पूर्वराजाको ‘काठमाडौं फिर्ती सवारी’लाई भव्य बनाउन विभिन्न तयारीहरू भइरहेका छन् । राप्रपाले सोही दिनका लागि तय गरिएको आफ्नो सभा स्थगित गरेर पूर्वराजाको स्वागतलाई प्राथमिकता दिएको छ ।

यसबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्थाको पुनःस्थापनाको सम्भावना अस्वीकार गर्दै पूर्वराजालाई प्रत्यक्ष राजनीतिमा आउन चुनौती दिएका छन् । उनले यदि लोकप्रियता छ भने पूर्वराजाले निर्वाचन लड्नुपर्ने धारणा राखेका छन् । ‘राजा कुर्सीमा बस्दैमा राजा हुँदैन, जनताको मतबाट स्थापित हुनुपर्छ,’ उनले भनेका छन् । ओलीका अनुसार नेपाली जनताले राजतन्त्रलाई खारेज गरिसकेको हुँदा पुनःस्थापना असम्भव छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत राजसंस्थाको पुनरुत्थानप्रति कडा आपत्ति जनाएका छन् । उनले सामन्ती प्रवृत्तिहरूले टाउको उठाउने प्रयास गरे जनताले पुनः तिनलाई समाप्त पार्ने चेतावनी दिएका छन् ।
नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए । अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेण्डामा जानु रहेको उल्लेख गर्दै प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने तर्क गरे ।
राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही भने राष्ट्रपतिको स्थानमा राजालाई राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले २५ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्न सबै राष्ट्रवादी शक्तिहरूलाई आग्रह गरेका छन् । नेता शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजासंस्थाको परिकल्पना गरेको बताए ।। राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनको दाबी छ ।
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाईँले सरकारले पूर्वराजालाई नजरबन्दमा राख्ने योजना बनाइरहेको दाबी गरेका छन् । उनले २५ फागुनको प्रदर्शनलाई ऐतिहासिक बनाउन राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । नेपालमा राजसंस्थाको पुनःस्थापनाको पक्षमा समर्थन बढ्दै गएको संकेत देखिएको छ । आगामी दिनमा यस आन्दोलनले कस्तो रूप लिन्छ भन्ने हेर्न बाँकी छ ।
संवाददाता । शनिबार, फागुन २४, २०८१ मा प्रकाशित