Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेत विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान



वीरेन्द्रनगर । यती एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यती एअरलाइन्सको ९ एन–एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।


परीक्षण उडानलाई एअरलाइन्सका प्रशिक्षक पाइलटहरूद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरूको टोली साथमा गएका थिए ।

गत २० गते मंगलबार यती एअरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ । यतीले उक्त विमानस्थलहरूमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रूपमा प्रयोग गर्ने उद्देश्यले परिक्षण उडान गरेको हो ।

हाल यी विमानस्थलहरूमा यतीले उडान गर्ने गरेको छैन । परिक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार