Karnali Media
२०८३ जेठ ३० , शनिबार

सुर्खेतमा कुन होटलको खाद्य स्वच्छताको अवस्था कस्तो छ ? तीन होटलले पाए ३ स्टार



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेका विभिन्न होटलहरुको खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिहिबार, सुक्रबार र शनिबार वीरेन्द्रनगरका होटलहरुको स्तरिकरण गरेको हो ।

होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण चिन्ह पनि प्रदान गरिएको छ । ५० वटा खाद्य स्वच्छताका विभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र समान्य पहेलो स्टिकरमा बर्गिकरण गरिएको छ । साथै धेरैजसो होटलहरुले न्यूनतम सूचक पनि पुरा नगरेको अनुगमनमा पाईएको छ । होटल स्तरिकरण चिन्ह बिशेषतः होटलको भान्सा र होटलमा बन्ने बिभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको थियो ।

वीरेन्द्रनगरका ४१ होटलमा खाद्य स्वच्छताका विभिन्न ५० सूचकहरुमा गरिएको अनुगमनमा सिदार्थ होटल र सुभ होटल र होटल नमस्ते नेपालले अतिउत्तम (३ स्टार) प्राप्त गरेका छन् । यस्तै कौशिक गार्डेन रेष्टुरेन्ट, र सेफ च्वाइस रेष्टुरेन्ट एण्ड पिजा हर्टले उत्तम (२ स्टार) प्राप्त गरेका छन् । साथै ४ होटलहरु सन्तोषजनकमा परेका छन् ।

खाद्य स्वच्छताका विभिन्न सुचकमा अनुगमन गर्दा १५ होटल तथा रेष्टुरेन्टहरु सामान्यमा पर्दा र १७ होटलहरु स्तरिकरणमा नै नपरेको पाइएको छ । धैरैजसो होटलहरुले न्यूनतम सूचकहरु पनि पुरा नगरेको होटल स्तरिकरणको तथ्याङ्कमा देखिएको छ ।

होटल स्तरिकरणमा भान्सा तथा खाद्य परिकारको स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए । होटल व्यवसायीहरुलाई पटकपटक विभिन्न तालिमहरु मार्फत खाद्य स्वच्छताको स्तर वृद्धि गर्नमा लागि परेको पनि उनको भनाई छ । यदपी पछिल्लो तीन बर्षदेखि होटलहरुको स्तरिकरण हुँदै आएपनि होटलहरुको खाद्य स्वच्छताको अवस्था भने घट्दै गएकोमा देखिन्छ ।


स्तरिकरणमा नपरेका होटलहरुले सूचकहरु पुरा गरि स्तरिकरणका लागि १५ दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत सम्पर्क गर्न सकिने प्राबिधिक सहायक कपिल सुवेदीले जानकारी दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्थानीय खाद्य स्वच्छता समुह बनाएर यो अनुगमन गरेको थियो । होटल व्यावसायी संघ सुर्खेतका अध्यक्ष गणेश शाहीको संयोजकत्वमा खाध्य अधिकृत, वीरेन्द्रनगर नगरपालिका उद्योग शाखाका प्रतिनिधी, रास्ट्रीय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, नगर प्रहरी र पत्रकारहरूको सहभागीता रहेको थियो ।

भिडियो हेनुहोस्ः

प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार