Karnali Media
२०८३ जेठ ३० , शनिबार

राउटे मुखिया सूर्यनारायण शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु



वीरेन्द्रनगर । लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ ।

जंगलमा फिरन्ते जीवन बिताउने यस समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति साढे ९ बजे सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

सूर्यनारायण शाही राउटे समुदायका तीन मुखियामध्ये एक थिए। राउटे समुदायमा तीन गोत्र छन्—त्यसमध्ये उनी कल्याल गोत्रबाट प्रतिनिधित्व गर्दै २०७२ सालको जेठमा मुखिया बनेका थिए।


हाल राउटे समुदाय दुई भागमा विभाजित भएर बसोबास गरिरहेको छ। एक समूह सुर्खेतको सोतखोलामा सूर्यनारायणको नेतृत्वमा थियो भने अर्का दुई मुखियासहितको समूह वीरेन्द्रनगर–१३ को करेखोलामा आश्रित रहेको छ।

राउटे मुखिया शाहीको मृत्युसंगै राउटे समुदायको जनसंख्या घटेर १३५ मा झरेको छ।

निरन्तर स्वास्थ्य समस्या, अत्यधिक मदिरा सेवन, आधारभूत सुविधाको अभाव र जीवनशैलीमा आएको असन्तुलनले यो समुदाय संकटमा परेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार