Karnali Media
२०८३ जेठ २५ , सोमबार

प्रकाशकीय : कर्णाली मिडिया चौथो बर्षमा प्रवेश



आजभन्दा तीन बर्ष अघि आजैको दिन २०७९ जेठ १५ गते स्थापना भएको कर्णाली मिडियाले आज तीन वर्ष पुरा गरेको छ।  “सत्य, तथ्य, निष्पक्ष समाचार र विश्लेषण” लाई आत्मसात् गर्दै थ्री स्टार रिसर्च एण्ड प्रोडक्शन हाउस प्रालीले स्थापना गरेको कर्णाली मिडियाले प्रारम्भदेखि नै स्थानीय जनजीवन, राजनीति, संस्कृति, भाषा, खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयवस्तुहरूलाई समाचार र कार्यक्रमको केन्द्रमा राख्दै आएको छ।

स्थापनाको पहिलो दिनदेखि नै कर्णाली मिडियाले डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै समाचार, खोजमूलक भिडियो रिपोर्टिङ, अन्तर्वार्ता, प्रेरणादायी वृत्तचित्र, पठनीय फिचर, जीवन्त फोटो स्टोरी र तथ्यपरक विश्लेषणमूलक सामग्रीहरू निरन्तर रूपमा प्रकाशन तथा प्रसारण गरिरहेका छौं। हाम्रा लोकप्रिय कार्यक्रमहरू जस्तै “कर्णाली विशेष”, “जनप्रतिनिधिसँग कर्णाली मिडिया”, “कर्णाली संवाद”, “युवासँग कर्णाली मिडिया”  र स्थलगत “फिल्ड रिपोर्टिङ” मार्फत हामीले कर्णालीका आम नागरिकका सरोकार, अवसर र चुनौतीहरूलाई गहिराइबाट केलाउने र सम्बन्धित निकायसम्म पुर्‍याउने सार्थक प्रयास गरेका छौं। यी कार्यक्रमहरूले हजारौं दर्शकमाझ बहस र विमर्शको वातावरण सिर्जना गर्न सफल भएका छन्।

यो तीन वर्षको अवधिमा, कर्णाली मिडियाले कर्णालीका विकटदेखि सुगम भूगोलसम्मका हजारौं पाठक तथा दर्शकहरूको विश्वास जित्न सफल भएको छ। सूचना प्रविधिको नवीनतम प्रयोग, व्यावसायिक र निष्पक्ष पत्रकारिताप्रतिको अटल प्रतिबद्धता, र निरन्तर सिर्जनशीलताले हामीलाई कर्णाली प्रदेशकै एक अग्रणी र भरपर्दो डिजिटल समाचार माध्यमको रूपमा स्थापित गरेको छ।

हामीले हजारौं संख्यामा समाचार, दर्जनौं भिडियो सामग्री र विशेष कार्यक्रमहरू उत्पादन गरी प्रसारण गरेका छौं, जसले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय स्तरमा समेत चर्चामा ल्याउन मद्दत पुर्‍याएको छ।


आज हामी केवल एक मिडिया हाउस मात्र नभई, कर्णाली प्रदेशको आवाज, यहाँका नागरिकको र समग्र प्रदेशको सकारात्मक परिवर्तनको एक अभिन्न साझेदार बन्न सकेकोमा गौरवान्वित छौं। आगामी दिनहरूमा हामी अझ बढी जिम्मेवार, तथ्यपूर्ण, खोजमूलक र समावेशी पत्रकारिताको अभ्यास गर्दै, कर्णालीको समृद्धिका लागि एक जिम्मेवार सञ्चारमाध्यमको भूमिकामा अझ सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौं।

हाम्रो यो यात्रा तपाईंहरूको अटुट साथ, सहयोग र विश्वासबिना कदापि सम्भव थिएन। यो तीन वर्षको सफल यात्रामा अनवरत रूपमा साथ दिनुहुने सम्पूर्ण आदरणीय पाठक वर्ग, समाचारका महत्वपूर्ण स्रोतहरू, हाम्रा प्रस्तुतिलाई माया गर्नुहुने दर्शकवृन्द, विज्ञापनदाता, शुभेच्छुकहरू तथा कर्णाली मिडिया टिमका सम्पूर्ण सहकर्मीहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं।

किरण रेग्मी
-अध्यक्ष
कर्णाली मिडिया (थ्री स्टार रिसर्च एण्ड प्रोडक्शन हाउस प्रा.लि.)

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार