सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले मध्यपश्चिम विश्वविद्यालयसँग विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न र सहकार्यका लागि सम्झौता गरेको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रवकुमार गौतमविच सार्वजनिक महत्वका विषयमा सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता गरिएको हो ।
दुवै निकायविच सहयोग र सहकार्यका लागि सम्झौता गरेका विषयमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन बैकल्पिक उर्जा र वातावरणीय सुधारका कार्यक्रम छन् । विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठी लगायतका क्षमता विकासका कार्यक्रम र स्थानीयत बस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरुमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने विषयहरु छन् । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महत्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरु सम्झौता पत्रमा समावेश छ ।

‘स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको छ,’ नगर प्रमुख ढकालले भनिन्, ‘कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासन सम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरेका हौं ।’ नगरबासीका आवश्यकता र चाहनाहरुको परिपूर्ती गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइरहेको ढकाल बताउछिन् । सहकार्यका कार्यक्रम नगरपालिकाका विभिन्न संरचना र आवश्यकताअनुसार विश्वविद्यालय मातहतका निकायविच कार्यान्वयनका लागि आपसी सहमति गर्न सकिने सम्झौतामा समावेश छ । दुवै निकायविच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने उल्लेख छ ।
यसैविच, २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयले १५ औं वार्षिक उत्सव विविध कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।
संवाददाता । मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित