सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आज ३१ स्थापना दिवस । विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदै छ । महासंघले स्थापना दिवसको अवसरमा बुधबार र बिहीबार पत्रकारहरुका लागि निशुल्क आँखा परीक्षण, रक्तदान कार्यक्रम र मैत्रीपूर्ण भलिबल प्रतियोगित सम्पन्न गरिसकेको छ भने आज शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
२०४९ साल वैशाख १६ गते सुर्खेत शाखाको स्थापना गरिएको थियो । सुर्खेत शाखाले स्थापना दिवसको अवसरमा सुर्खेत शाखाका सदस्य, जिल्लामा कार्यरत पत्रकार, सञ्चारगृह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु सबैमा शुभकामना व्यक्त गरेको छ ।
महासंघले शुभकामना व्यक्त गर्दै पत्रकारहरुको श्रमजीवी पत्रकारहरुको अधिकार, हकहित र स्वतन्त्र पत्रकारिताको संस्थागत विकाससँगै राष्ट्रियता, लोकतन्त्र र जनअधिकारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएको छ ।
वर्तमान जिल्ला कार्यसमितिले प्रेस स्वतन्त्रता र श्रमजीवीका सवाललाई केन्द्रविन्दूमा राखेर रणनीति निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्ने चरणमा अगाडी बढेको महासंघको भनाई छ ।
यस्तै महासंघले प्रेस स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रको संरक्षण तथा मिडियाको संस्थागत विकास र प्रवद्र्धनका लागि आवश्यक नीति तथा योजना निर्माणमा गम्भीर बन्न स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।
यतिबेला देश निर्वाचनमा होमिएको र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र भूमिका कायम राख्नुपर्ने जिम्मेवारी रहेको भन्दै पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्दै तटस्थ र स्वतन्त्र भूमिका निर्वाह गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आव्हान गरेको छ ।
संवाददाता । शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित