रुकुम पश्चिमकी एक गर्भवती महिलालाई स्वास्थ्य जटिलता देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई आज दिउँसो हेलिकप्टरबाट सुर्खेत लगिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो।
नन्दकलाको पाठेघरको नलीमा गर्भ रहेको अवस्थामा बच्चा हुर्किँदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको थियो। उनलाई बिहानै जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पतालमा सफल शल्यक्रिया भए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि सुर्खेत रिफर गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले जानकारी दिए।

अत्यन्त जोखिमपूर्ण अवस्थामा देखिएकी नन्दकलाको जीवनरक्षा नेपाली सेनाको हेलिकप्टर सहयोगमार्फत सम्भव भएको छ। यस घटनाले दुर्गम क्षेत्रका महिलाहरूको स्वास्थ्य पहुँच अझै चुनौतीपूर्ण रहेको देखाएको छ।
संवाददाता । शनिबार, असार १४, २०८२ मा प्रकाशित