सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका हाम्रो भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका छन् ।
शनिबार वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
उनले भने, “बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।”

वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि आवश्यक नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखि बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षीत हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
संवाददाता । शनिबार, असार २१, २०८२ मा प्रकाशित