Karnali Media
२०८३ भदौ २५ , बिहीबार

सुर्खेतमा अवैध मदिरा भट्टी नष्ट, १ जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ गैरीगाउँमा संचालन हुँदै आएको अवैध मदिरा भट्टी प्रहरीको निगरानीमा नष्ट गरिएको छ। उक्त कार्यमा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले शनिबार बिहान छापा मारेको थियो। प्रहरीले घरेलु मदिरा उत्पादन, भण्डारण तथा कारोबारमा संलग्न नवराज परियारलाई पक्राउ गरेको छ।


परियार सल्यानको बागचौर नगरपालिका–२ का स्थायी बासिन्दा हुन् भने हाल गैरीगाउँस्थित डेरा गरी बस्दै आएका थिए। प्रहरीका अनुसार, उनको डेराबाट २० लिटर क्षमताका २२ वटा बाल्टिनमा रहेको कच्चा पदार्थ ३८५ लिटर र तयारी अवस्थामा रहेको १५ लिटर मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद मदिरा भने स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार