Karnali Media
२०८३ असार २ , मंगलबार

क्रिकेटर विपिनप्रसाद शर्मालाई सम्मान



सुर्खेत । क्रिकेटर विपिनप्रसाद शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशद्वारा सम्मान गरिएको छ।

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल टिमको कप्तान रही उत्कृष्ट प्रदर्शन गरि उपाधी दिलाएकोमा उनलाई सम्मान गरिएको हो।

सुर्खेतमा सोमबार भएको सम्मान कार्यक्रममा रास्वपाका प्रदेश सभापती मदन खड्काको प्रमुख आतिथ्यता, उपसभापती प्रेम बोहरा र सहमन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारीको आतिथ्यतामा जिल्ला कार्यसमिति सुर्खेतका सभापती रमेश कुमार सापकोटालगायतको उपस्थितिमा शर्मालाई सम्मानपत्र र नगद सहित सम्मान प्रदान गरिएको हो।

सम्मान प्रदान गर्दै रास्वपाका सुर्खेत जिल्ला सभापती रमेश कुमार सापकोटाले भने, “विपिनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। उहाँको निरन्तर प्रयास र समर्पणले समग्र नेपाली खेलकुदको प्रतिष्ठा बढेको छ।” उनले शर्माको उज्ज्वल खेल भविष्यको शुभकामनासमेत व्यक्त गरे।


विपिनप्रसाद शर्माले हालै मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता-२०२५ मा नेपाली टिमको कप्तानको रूपमा नेतृत्व गर्दै उपाधि जिताएका थिए। प्रतियोगितामा उनले ६ खेलमा १७ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडी तथा प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि समेत हात पारेका थिए।

ट्यालेन्ट हन्टबाट अन्तर्राष्ट्रिय यात्रासम्म
विपिनको क्रिकेट यात्राको सुरुवात नेपाल प्रिमियर लिग (एनपिएल) को ट्यालेन्ट हन्ट कार्यक्रमबाट भएको थियो। उनले कर्णाली याक्सबाट एनपिएल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। एनपिएलमा ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जित्दै उनि चर्चामा आएका थिए। त्यसयता उनले लगातार उमेर समुहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिँदै आएका छन्।

हालै उनलाई एनपिएल सिजन २ का लागि कर्णाली याक्सले आफ्नो टिममा रिटेन गरेको छ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार