Karnali Media
२०८३ भदौ २९ , सोमबार

सुर्खेतमा काठको टुक्राले टाउकोमा प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सुगरखोलामा एक पुरुषले आफ्नै श्रीमतीको काठको टुक्रा प्रहार गरी हत्या गरेका छन्।

मृतक करिब ४० वर्षीया रबिना ठाडा मगरलाई उनका श्रीमान् ४२ वर्षीय दानसिंह ठाडा मगरले आज बिहान करिब साढे १ बजेको समयमा सुतिरहेकै अवस्थामा खाटको खुट्टा बनाउन राखिएको काठको टुक्रा प्रयोग गरी टाउकोमा आक्रमण गरेका थिए। घटनास्थलमै रबिनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।


उनका अनुसार स्थानीयवासीले राति करिब साढे २ बजेतिर अस्थायी प्रहरी बिट करेखोलामा खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दानसिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

घटनाको गम्भीरता हेरेर प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार