सुर्खेत । कुनै पनि बाहानामा बालबालिकालाई विद्यालय वा शिक्षाबाट बञ्चित हुन नदिन एक्सिस परियोजनाले काम गरिरहेको छ । सुर्खेतको बराहताल गाउँपालिकामा टाउन हल मिटिङ सम्पन्न गर्दै समुदायका आवाज प्रत्यक्ष रुपमा जनप्रतिनिधि सामु पुराएको हो ।
गत वर्ष अगष्ट देखि सुर्खेतको चौकुने, बराहताल, सिम्ता र दैलेखको डुंगेश्वर गाउँपालिकामा सञ्चालन भइरहेको यो परियोजनाले समुदायस्तरमा शिक्षाबाट वञ्चित बालबालिकाको अवस्था बुझ्ने, समस्या पहिचान गर्ने र समाधान खोज्ने उद्देश्य राखेर काम गरिरहेको थियो ।

बराहतालमा परियोजनाको नेतृत्व समालिरहेको सुन्दर नेपाल संस्थाले पहिलो चरणमा कर्मचारी परिचालन गरेर विद्यालय नपुगेका बालबालिकाको तथ्यांक संकलन गरिएको थियो भने दोस्रो चरणमा विभिन्न वडामा सामुदायिक छलफल गरी विद्यालय नजानुका कारण, समस्या र सम्भावित समाधानबारे विचार साझा गरिएको थियो ।
बराहतालमा सम्पन्न टाउन हल मिटिङमा स्थानियबासीले आफ्ना बालबालिका विद्यालय नजानुका विभिन्न कारणहरु जनप्रतिनिधि सामु आफै राखेका थिए । जसलाई जनप्रतिनिधिले महत्वका साथ सुनेर प्रतिक्रियाहरु दिएका हुन् । स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, शिक्षा तथा युवा शाखाका कर्मचारी, शिक्षक, अभिभावक र बालबालिकाको उपस्थिति रहेको कार्यक्रममा पालिकाले यस्ता समस्या आउन नदिन आफुहरु लागि पर्ने र परियोजना नरहेपनि शिक्षाका सवालमा आफुहरुले काम गरिरहने बताएका हुन् ।
कार्यक्रमबाट गरिएका प्रतिवद्धता:
१) विद्यालय बाहिर रहेका सबै बालबालिकालाई तुरुन्तै विद्यालयमा भर्ना गर्ने ।
२) विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने ।
३) शिक्षक–अभिभावकबीच समन्वय र सहकार्य बढाउने ।
४) दलित, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा पहुँचमा प्राथमिकता दिने ।
५) विद्यालयमा पुस्तकालय स्थापना गर्ने ।
६) बालबालिकाका लागि अतिरिक्त क्रियाकलाप, सचेतना कार्यक्रम र मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने ।
७) विद्यालय भौतिक संरचना सुधारका लागि स्थानीय सरकार र समुदायबीच सहकार्य गर्ने ।
८) विद्यालयमा बालबालिकालाई आकर्षित गर्ने वातावरण बनाउन सांस्कृतिक र खेलकुद कार्यक्रम प्रोत्साहन गर्ने ।

कार्यक्रममा सहभागी अभिभावकले आफ्नो तर्फबाट पनि बालबालिका विद्यालय जान्छन/जादैनन् भन्ने कुरामा गम्भीर ध्यान दिने र विद्यालय जान बाधा पु¥याउने समस्या भए विद्यालयलाई तत्काल जानकारी गराउने प्रतिवद्धता पनि जनाएका हुन् ।
एक्सिस परियोजनाले समुदायमा सचेतना फैलाउन, विद्यालय र घरबीच सहकार्य बढाउन र शिक्षाबाट कोही पनि बालबालिका वञ्चित नहोस् भन्ने वातावरण बनाउन महत्त्वपूर्ण योगदान पु¥याइरहेको सरोकारवालाहरूले बताएका छन् ।











संवाददाता । आइतबार, भदौ १५, २०८२ मा प्रकाशित