जुम्लाको हिमा गाउँपालिकामा सार्वजनिक स्रोतको दुरुपयोग र अनियमितता बढ्दै गएको भन्दै “हिमा सचेत अभियान” ले विज्ञप्ति जारी गरी तत्काल छानविनको माग गरेको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, महालेखापरीक्षणको प्रतिवेदनमा समेत चरम अनियमितता देखिएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत ढंगले योजना सञ्चालन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
सचेत युवाहरूले २०७४ सालदेखि सञ्चालन भएका योजनादेखि हालसम्मका सरकारी कार्यक्रमहरूमासमेत गम्भीर अनियमितता रहेको दाबी गर्दै विशेष छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
विज्ञप्तिमा उठाइएका मुख्य मागहरूमा २०७४ सालदेखि हालसम्म सञ्चालन भएका योजनाको निष्पक्ष छानविन, पछिल्ला सरकारी तथा सामाजिक कार्यक्रम (ग्रीनरोड, ग्रीन रिभर, स्वास्थ्य बीमा, छात्रवृत्ति वितरण, जिन्सी खरिद, बजेट रुपान्तरण) को छानविन, कार्यपालिका सदस्यलाई मोटरसाइकल वितरणमा भएको भनिएको अनियमितता र शक्तिको दुरुपयोगको छानविन रहेका छन्।
युवाहरूले माग एक साताभित्र सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन्। साथै, माग सम्बोधन भएमा शान्तिपूर्ण संवादमार्फत स्थानीय विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
हेर्नुहोस् विज्ञप्ती






संवाददाता । बुधबार, असोज ०१, २०८२ मा प्रकाशित