सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गर्ने विषयमा लामो समयदेखि चलेको कानुनी विवाद अन्त्य भएको छ। उच्च अदालत सुर्खेतले मंगलबार यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेत विरुद्ध परेको रिट निवेदन खारेज गरेको हो।
यातायात व्यवस्था कार्यालय सुर्खेतले नयाँ ट्रायल सेन्टर छनौट गरेपछि असन्तुष्ट बनेका पुराना सञ्चालकले अदालतमा मुद्दा दायर गरेका थिए। उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय हरिप्रसाद जोशी र कोमल बहादुर खत्रीको संयुक्त इजलासले निवेदकको दाबी नपुग्ने ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो। यो फैसलासँगै अब यातायात व्यवस्था कार्यालयलाई छनौटमा परेको नयाँ सेन्टरबाटै काम कारबाही अगाडि बढाउन सक्नेछ। उच्च अदालत सुर्खेतले रिट निवेदन खारेज गरेसंगै लाइसेन्सको ट्रायल वीरेन्द्रनगर–४, भैरवस्थानमा रहेको ‘बि एण्ड बि मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर’ मा सञ्चालन गर्ने कानुनी बाटो खुलेको हो।
करिब १३ वर्षदेखि सुर्खेतमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएको ‘बुद्ध मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर’ का सञ्चालक फष्ट बहादुर हमालले आफूलाई अन्याय भएको भन्दै अदालतको ढोका ढक्ढकाएका थिए। यातायात व्यवस्था कार्यालय सुर्खेतसंगको सम्झौता अनुसार २०७६ सालदेखि ५ बर्षसम्म ‘बुद्ध मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर’ मा लाइसेन्सको ट्रायल हुँदै आएको थियो। तर यातायात व्यवस्था कार्यालय सुर्खेतले २०८२ साल साउन २८ गते प्रयोगात्मक परीक्षा स्थलका लागि नयाँ प्रस्ताव आह्वान गरेको थियो। उक्त प्रतिस्पर्धामा ‘बि एण्ड बि मोटर ड्राइभिङ’ छनौट हुने प्रक्रियामा गएपछि बुद्ध मोटरका सञ्चालक हमालले प्रक्रिया रोक्न र आफ्नो निरन्तरताको माग गर्दै २०८२ असोज ३० गते उत्प्रेषण तथा परमादेशको रिट दायर गरेका थिए।
रिट निवेदकले यातायात व्यवस्था कार्यालय, कार्यालय प्रमुख, मूल्याङ्कन समिति र बि एण्ड बि मोटर ड्राइभिङ सेन्टर समेतलाई विपक्षी बनाएका थिए। निवेदकले कानुनी रित नपुर्याई नयाँ सेन्टर छनौट गर्न लागिएको जिकिर गरे पनि अदालतले सुरुवाती चरणमै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। गत कार्तिक १२ गते भएको सुनुवाइमा अदालतले दुवै पक्षको छलफल पछि प्रक्रिया रोक्न नपर्ने आदेश दिएको थियो भने मंसिर २३ गतेको अन्तिम फैसलाले रिट नै खारेज गरिदिएको छ।
अदालतको यो फैसलाले कर्णाली प्रदेशमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षालाई लिएर देखिएको अन्योलता पूर्ण रूपमा हटेको छ। अब यातायात व्यवस्था कार्यालय सुर्खेतले कानुनी रूपमै बि एण्ड बि मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरसँग सम्झौता कार्यान्वयन गरी सेवाग्राहीका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सक्नेछ। लामो समयदेखि एउटै स्थानमा हुँदै आएको ट्रायल अब नयाँ स्थान र मापदण्ड अनुसार सञ्चालन हुने भएको छ।






संवाददाता । बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित