विश्वप्रसिद्ध मोटरसाइकल निर्माता रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसपटक यस मोडेललाई परिमार्जित बनावट, सुधारिएका सुविधाहरू र नयाँ रङसहित नेपालमा उपलब्ध गराएको हो।
नेपालभरिका शोरुममा एकैसाथ गरिएको सार्वजनिक कार्यक्रममा सुर्खेतस्थित अधिकृत विक्रेता ‘नःभ इन्टरप्राइज’ मा पनि विशेष कार्यक्रम आयोजना गर्दै नयाँ हन्टर ३५० औपचारिक रूपमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ।
नयाँ हन्टर ३५० एकरङ र दोहोरो रङ गरी दुई रूपमै उपलब्ध छ। एकरङमा रियो सेतो, ड्यापर खैरो र ग्राफाइट खैरो उपलब्ध छन्, जसको मूल्य ४ लाख ९४ हजार ९ सय निर्धारण गरिएको छ। दोहोरो रङमा टोकियो कालो, लन्डन रातो र रिबेल नीलो उपलब्ध छन्, जसको मूल्य ५ लाख ९९ हजार ९ सय तोकिएको छ।
यसमा ३३९ सिसी क्षमताको जे–शृङ्खलाको इन्जिन प्रयोग गरिएको छ, जसले शहरका व्यस्त सडकमा पनि सहज, स्थिर र आरामदायी यात्राको अनुभव दिने कम्पनीको दाबी छ।
सन् २०२२ मा पहिलोपटक बजारमा आएको हन्टर ३५० विश्वभर सात लाखभन्दा बढी राइडरको रोजाइमा परिसकेको छ। नेपालमा पनि दैनिक तथा सहर केन्द्रित यात्राका लागि उपयुक्त विकल्पका रूपमा यसले बजार विस्तार गर्ने अपेक्षा गरिएको छ।
नयाँ हन्टर ३५० नेपाली सहरका यात्रुका आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको छ। दैनिकी, छोटो दूरी तथा सहर–केन्द्रित यात्रामा यसको प्रयोग सहज र उपयोगी हुने कम्पनीको विश्वास छ।
सन् १९०१ मा स्थापना भएको रोयल इन्फिल्ड विश्वका पुराना मोटरसाइकल निर्माता मध्ये एक मानिन्छ। कम्पनीले हाल विश्वका धेरै देशमा सेवा विस्तार गर्दै आएको छ भने नेपालमा पनि यसको मोडेलहरू उल्लेखनीय रूपमा लोकप्रिय छन्। नयाँ हन्टर ३५० सार्वजनिक भएसँगै नेपाली बजारमा कम्पनीको उपस्थितिमा थप बलियो प्रभाव पर्ने अपेक्षा गरिएको छ।






संवाददाता । बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित