सुर्खेत, १० पुस । अपांगता क्षेत्रमा विविध विषयमा सहकार्य गर्ने गरी गठन गरिएको प्रादेशिक समन्वय कार्यसमूहसँग दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल तथा महासंघको कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार र बिहिबार दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सिबीएम ग्लोबलसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर परियोजना–२’ मार्फत अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरणमा यही बर्षदेखि लागु भएको उक्त परियोजना, अपांगताको अवधारणा, वर्गिकरण, परीक्षण, अपांगता समावेशी विकासको अवधारणा, प्रादेशिक कार्यसमूहको कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो ।
प्रादेशिक समन्वय कार्यसमूहमा विभिन्न सरोकारवाला निकायलाई समावेश गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा र स्वास्थ्य सेवा महाशाखा, प्रदेश योजना आयोग, राष्ट्रिय मानवअधिकार आयोग, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेश, अटिजम केयर नेपाल सेसाइटी, वौद्धिक अपांगता अभिभावक संघ, भेरी बहिरा संघ लगायतका निकायालालई समूहमा आवद्ध गरिएको छ ।
राज्यको प्रणालीलाई उत्तरदायी र प्रभावकारी बनाउँदै अपांगता भएका व्यक्तिहरुको अधिकार, अपांगता क्षेत्रको लागि तय भएका नीति तथा कार्यक्रमको प्रभावकिारिताको लागि समन्वय गर्ने उद्देश्यसहित परियोजनाअन्तर्गत प्रादेशिक समन्वय कार्यसमूह गठन गरिएको हो । सम्बन्धित क्षेत्रका, ऐन, नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने, प्रादेशिक तहमा बनेका नीति, नियमहरुमा विद्यमान कानुनी अवरोधहरुको पहिचान गर्ने र सुधारका लागि सहजीकरण गर्ने, संघ, प्रदेश र स्थानीय तहका संयन्त्रहरुबीच नियमित संवाद स्थापना गर्दै संरचनागत सुदृढीकरणका लागि समन्वय गर्ने लगायतका कार्यहरु समूहलाई तोकिएको छ ।
यस्तै बिहिबार प्रदेश समन्वय कार्य समूहको वैठक पनि सम्पन्न भएको छ । वैठकले समूहको संयोजकको जिम्मा सामाजिक विकास मन्त्रालयलाई तोक्ने, सचिवालयको जिम्मेवारी राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशलाई तोक्ने, सञ्चार समूह निर्माण गर्ने, समूहको कार्ययोजना तय गर्ने जस्ता निर्णय गरेको छ ।






संवाददाता । बिहिबार, पुष १०, २०८२ मा प्रकाशित