लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी भएका १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
माघ १७ गते सञ्चालन भएको परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर सहभागी भएको, नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी किर्ते गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आर्थिक लाभ लिने उद्देश्यले सक्कली परीक्षार्थीको सट्टा परीक्षा दिने कार्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूमाथि लिखत किर्ते तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण:
१) जाजरकोट, छेडागाड नगरपालिका–११, १९ वर्षीय केशव थापा (नक्कली)
२) दैलेख, दुल्लु नगरपालिका–०१, १८ वर्षीय रमेश नेपाली (नक्कली)
३) सुर्खेत, गुर्भाकोट नगरपालिका–१३, २४ वर्षीय वीरबहादुर ठाडा (नक्कली)
४) जाजरकोट, कुसे गाउँपालिका–०२, १९ वर्षीय विपेश सिंह (परीक्षा दिने)
५) जाजरकोट, जुनेदाचाँदे गाउँपालिका–०१, १८ वर्षीय ललित रावल (आ. परीक्षा दिने लगाउने)
६) जाजरकोट, कुसे गाउँपालिका–०२, १८ वर्षीय सूर्य किरण शाही (आ. परीक्षा दिने लगाउने)
७) जाजरकोट, कुसे गाउँपालिका–०२, २१ वर्षीय निरज शाही (परीक्षा दिने)
८) जाजरकोट, छेडागाड नगरपालिका–१०, १९ वर्षीय चन्द्र शाह (नक्कली)
९) जाजरकोट, कुसे गाउँपालिका–०२, २३ वर्षीय नवराज विक (नक्कली)
१०) बाँके, बैजनाथ गाउँपालिका–०२, २४ वर्षीय रामु कार्की (नक्कली)
११) बाँके, बैजनाथ गाउँपालिका–०१, २५ वर्षीय मोतिलाल थारु (नक्कली)
१२) जाजरकोट, कुसे गाउँपालिका–०२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–०९ बस्दै आएका २६ वर्षीय पूर्णबहादुर सिंह (मतियार)
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।





