सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणलाई लिएर प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सांसद सापकोटाले किशोरीमाथि भएको घटनाले समाजलाई नै स्तब्ध बनाएको बताएका छन्। यस्तो संवेदनशील घटनामा निष्पक्ष र गम्भीर अनुसन्धान आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार कानुनभन्दा माथि कोही पनि नभएकाले घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्। पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै निकाय जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सापकोटाले अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन सम्बन्धित निकायले विशेष सतर्कता अपनाउनुपर्ने बताए। उनले घटनाको वास्तविकता बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन आफूले आवश्यक समन्वय र पहल गरिरहेको बताए।
यसैबीच, उक्त घटनाबारे नेपाल प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनापछि स्थानीय बासिन्दा, नागरिक समाज तथा मानवअधिकारकर्मीहरूले पनि निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन्।






संवाददाता । शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित