सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले कर्णाली प्रदेशका ट्राफिक प्रहरीलाई आवश्यक ब्रिफिङ तथा निर्देशन दिएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले आज भर्चुअल माध्यमबाट मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा अस्थायी ट्राफिक पोष्ट प्रमुखहरुलाई सम्बोधन गर्दै ट्राफिक व्यवस्थापन, सेवा प्रवाह र अनुशासन सम्बन्धी महत्वपूर्ण निर्देशन दिएका हुन्।
ब्रिफिङका क्रममा उनले ट्राफिक प्रहरीले कानुनले निर्दिष्ट गरेका काम कारबाहीलाई कडाइका साथ पालना गर्नुपर्ने, कुनै पनि प्रकारका गैरव्यावसायिक आचरण तथा व्यवहारमा संलग्न नहुन चेतावनी दिए। साथै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जनतासँग सभ्य र जिम्मेवार व्यवहार गर्न निर्देशन दिए।
त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, कर्णाली प्रदेशको समग्र ट्राफिक व्यवस्थापन सुदृढीकरण तथा सडक सुरक्षामा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइएको छ। यसका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी अघि बढ्न समेत निर्देशन दिइएको कार्यालयले जनाएको छ।






संवाददाता । सोमबार, चैत ०९, २०८२ मा प्रकाशित