सुर्खेत । द काउन्सिल अफ जेन जेड, कर्णाली प्रदेश ले जापानमा अध्ययनरत अवस्थामा निधन भएका दैलेखका एक नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक सहजीकरणका लागि नेपाल सरकारसँग अनुरोध गरेको छ।
कर्णाली प्रदेश संयोजक प्रकाश खड्काले शेर बहादुर सिजपतीको शव नेपाल ल्याई अन्तिम संस्कार गर्न परिवार आर्थिक रूपमा सक्षम नभएको र यसले उनीहरूलाई थप पीडामा पारेको बताएका छन्। उनले यस्तो अवस्थामा नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायले जापानस्थित नेपाली दूतावाससँग समन्वय गरी आवश्यक प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छन्।
दैलेखको आठबिस नगरपालिका–३, छेवाडीका शेर बहादुर सिजपती विद्यार्थी भिसामा जापान गएको जापानमा उनको निधन भएको जनाइएको छ। हाल उनको शव जापानमै रहेको र नेपाल ल्याउन आवश्यक प्रक्रिया तथा खर्च व्यवस्थापनमा परिवारलाई कठिनाइ भइरहेको परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार परिषद्ले सम्बन्धित निकायहरूसँग समन्वय गरी शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाउन पहल गरिरहेको जनाएको छ।
पीडित परिवारलाई मानवीय आधारमा राहत प्रदान गर्दै शव स्वदेश ल्याउन सहजीकरण गर्नु राज्यको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, यस्ता घटनामा सरकारको सक्रियता अपरिहार्य हुने भन्दै तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको छ। सोहि ध्यानाकर्षणका आधारमा परराष्ट्र मन्त्रालयका सचिवको निर्देशन र पहलमा शेर बहादुर सिजपतीको शव नेपाल ल्याउने अन्तिम तयारी भइरहेको छ।






संवाददाता । मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित