Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा प्रहरी इन्स्पेक्टरमाथि कुटपिट, दुई दाँत भाँचिए: ४ जनाको खोजीमा प्रहरी



सुर्खेत । सुर्खेतमा नेकपा (एमाले) को मसाल जुलुसका क्रममा प्रहरी इन्स्पेक्टरमाथि कुटपिट भएको घटनामा संलग्न चार जनाको खोजी कार्य तीव्र पारिएको छ।

चैत्र १६ गते भएको उक्त जुलुसका क्रममा नगर प्रहरी इन्चार्ज इन्स्पेक्टर राजन भट्टराईमाथि मुक्का प्रहार गरी गम्भीर दुर्व्यवहार गरिएको प्रहरीले जनाएको छ। आक्रमणका क्रममा इन्स्पेक्टर भट्टराईका दुई वटा दाँत समेत भाँचिएका छन्।


प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारसहित रामु दाहल खत्री, ज्ञानेन्द्र बिक र मिनराज खत्रीलाई खोजी कार्य जारी रहेको छ। घटनापछि उनीहरू फरार रहेका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको पनि प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार