सुर्खेत । दैलेखमा यही बैशाख १३ देखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला हुने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजना तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा विहीबार आयोजित पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिइएको हो ।
दैलेखका स्थानीय तह, दानदाताबाट संकलित रकमले मेलाको सञ्चालन तथा व्यवस्थापन गरिने संस्थाका अध्यक्ष नविन योगीले बताए । उनका अनुसार मेलाबाट संकलित रकमले पञ्चकोशी क्षेत्रको इतिहास अभिलेख गरिनेछ । मेला अवधिभर स्कन्दनपुराण वाचन गरिनेछ । पुराण वाचनका लागि २१ वर्षीया वाचिकालाई आमन्त्रण गर्ने तयारी भइरहेको बताए ।
साथै मेलाले जलजले क्षेत्रमा अन्वेषण सफल भएको पेटोलियम उत्खनन् कार्य सुरु गर्न सरकारलाई दबाब समेत दिइने आयोजकको भनाई छ । सरकारले उक्त क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यता र अस्तित्व नमेटिने गरी पेटोलियम उत्खनन्को काम तत्काल थाल्नु जरुरी छ, अध्यक्ष योगीले भने ।
त्यस्तै, संस्थाका सचिव बखतबहादुर नेपालीले नेपाल भारत नागरिक मैत्री संस्थाको समन्वयबाट मेलामा भारतीय पर्यटक भित्र्याउने तयारी भइरहेको जानकारी दिए ।
दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्र दैलेख जिल्लामात्र नभई कर्णाली र नेपालकै गौरव भएकाले उक्त क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रर्वद्धनका थुपै्र कामहरु गर्न आवश्यक रहेकाले स्वतस्फूर्त रुपमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।






संवाददाता । बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित