सुर्खेत । कर्णाली युवा महोत्सवको अवसरमा कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको छ ।
सोमबार महोत्सव समापन समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली युथ आइकन अवार्डबाट समाजसेवीका रुपमा हरि कँडेल, कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएवापत नेत्र रोग विशेषत्र डाक्टर आकांक्षा राना, पत्रकारिताको तर्फबाट चाँदनी कठायत, गीत संगिततर्फ इब्सल सन्ज्याल, शिव संगित, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्र हिक्मत वादी, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहले युथ अवार्ड प्राप्त गरेका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख जोशीले अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रम समापन समारोहमा बोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोमा लाग्न युवाहरूलाई आह्वान गरेका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली युवा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने जिम्मा युवाहरूको भएको बताए ।
प्रदेश प्रमुख जोशीले कर्णालीको हीनताबोध त्याग्नुपर्नेमा जोड दिँदै भने, “कर्णाली गरिब छ, अशिक्षित छ भन्ने मनोवृत्तिबाट हामी टाढा रहनुपर्छ । कर्णाली समृद्ध छ र यहाँ उज्ज्वल भविष्य छ भन्ने सोचका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ उनले यो युग युवाहरूको भएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा निराश नभई उत्साहित भएर काम गर्न युवाहरूलाई प्रेरणा दिए । सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीको समृद्धिको मुख्य आधार नै कृषि भएको बताए । युवाहरू रोजगारीका लागि भारत र अन्य देशमा जानुपर्ने बाध्यताको अन्त्य गर्न कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने उनको तर्क थियो ।






संवाददाता । सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित