सुर्खेत । बिदाको समयमा आफ्नो जन्मभूमि फर्किएका नेपाल प्रहरीका प्रहरी निरीक्षक वकिल सुनारले आफूले अध्ययन गरेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिम्ता गाउँपालिका–५ बजेडा आलीमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी सचेतना तथा प्रशिक्षण प्रदान गरेका छन्।
विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी निरीक्षक सुनारले डिजिटल युगसँगै बढ्दै गइरहेका साइबर अपराध, अनलाइन ठगी, फेक आइडी, ह्याकिङ, साइबर बुलिइङ, सामाजिक सञ्जालको दुरुपयोग तथा व्यक्तिगत गोपनीयता सुरक्षाका विषयमा विद्यार्थीहरूलाई जानकारी दिएका थिए।
त्यसैगरी उनले इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बलियो पासवर्डको प्रयोग, अपरिचित लिंक तथा मेसेजबाट सावधान रहने उपाय, अनलाइन गेम तथा एप्सबाट हुन सक्ने जोखिम लगायतका विषयमा व्यावहारिक प्रशिक्षणसमेत दिएका थिए।
“आजको पुस्ता डिजिटल दुनियाँसँग प्रत्यक्ष जोडिएको छ। प्रविधिको सही प्रयोगले अवसर दिन्छ भने गलत प्रयोगले ठूलो जोखिम निम्त्याउन सक्छ। त्यसैले साइबर सचेतना अहिलेको आवश्यकता हो,” प्रहरी निरीक्षक सुनारले भने। विद्यालय परिवारले यस्ता संवेदनशील विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेकोमा प्रहरी निरीक्षक सुनारप्रति आभार व्यक्त गरेको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रशिक्षण अत्यन्त उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका छन्।






संवाददाता । आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित