सुर्खेत । अटिजम भएका बालबालिकाहरुको शिक्षा, संरक्षण र भविष्य निर्माणका विषयमा कार्ययोजना तयार गर्न सुर्खेतमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ। अटिजम केयर नेपाल सोसाइटी कर्णाली प्रदेश को आयोजनामा वीरेन्द्रनगरमा कार्यशाला सञ्चालन गरिएको हो।
अटिजमको प्रभाव, चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजना गरिएको गोष्ठीमा सरोकारवाला निकाय, अटिजमबाट प्रभावित बालबालिका तथा अभिभावकसहित करिब ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुशिल थापा ले कर्णाली प्रदेशमा रहेका अटिजम भएका बालबालिकाहरुका लागि एक वर्षे, तीन वर्षे र पाँच वर्षे रणनीति तथा कार्ययोजना तयार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए।
उनले अटिजम भएका बालबालिकाहरुलाई शिक्षा, सीप र आवश्यक सहयोग उपलब्ध गराउँदै विभिन्न कार्यक्रममार्फत उनीहरुको सुनौलो भविष्य निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे। कार्यशालामा अटिजम सम्बन्धी शिक्षा, बालबालिकाको अधिकार र दीर्घकालीन सहयोग प्रणाली लगायतका विषयमा केन्द्रित भएर तीन वटा मुख्य विषयमा कार्ययोजना निर्माण गरिने जनाइएको छ।
२०७५ सालमा स्थापना भएको उक्त संस्थाले अटिजम प्रभावित बालबालिकाहरुका लागि विभिन्न सचेतनामूलक तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।






संवाददाता । बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित