सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको पहिलो प्रदेश अधिवेशन आइतबार वीरेन्द्रनगरमा आयोजना हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।
पार्टीको प्रदेशस्तरीय नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको अधिवेशनले कर्णालीमा रास्वपाको आगामी संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ। प्रदेशभरबाट प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरू सहभागी हुने कार्यक्रम रहेको छ।
हालका प्रदेश सभापति मदन खड्काका अनुसार अधिवेशनलाई व्यवस्थित, भव्य र परिणाममुखी बनाउन विभिन्न व्यवस्थापनका कामहरू पूरा भइसकेका छन्। अधिवेशनबाट नयाँ प्रदेश कार्यसमिति चयन गरिने भएकाले नेतृत्वको विषय अहिले प्रमुख चासोको केन्द्र बनेको छ।
प्रदेश सभापतिको जिम्मेवारीका लागि पाँच जना नेताहरू आकाङ्क्षी देखिएका छन्। वर्तमान सभापति मदन खड्कासहित स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा, नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाही नेतृत्वको दौडमा रहेका छन्।
पार्टीभित्र नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल र परामर्श चलिरहेको बताइन्छ। आकाङ्क्षीहरूले प्रतिनिधिहरूसँग भेटघाटलाई तीव्र बनाएका छन् भने केन्द्रिय तहका नेताहरूसँग पनि समन्वय र संवाद बढाएका छन्। यसले अधिवेशनअघि नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ।
रास्वपाको कर्णाली प्रदेश अधिवेशनले नयाँ नेतृत्व मात्र चयन गर्ने नभई संगठन विस्तार, आगामी राजनीतिक रणनीति र प्रदेशस्तरीय कार्ययोजनाका विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्र युवा नेतृत्वको उदय, संगठन सुदृढीकरण र आगामी निर्वाचन केन्द्रित रणनीतिबारे समेत अधिवेशनमा व्यापक छलफल हुने बताइएको छ।
सभापति पदमा कसले बाजी मार्छ भन्ने विषयमा अहिले नै स्पष्ट अनुमान गर्न कठिन भए पनि पाँचै आकाङ्क्षीले आफू पक्षमा माहोल बनाउन सक्रियता बढाएका छन्। त्यसैले कर्णालीमा रास्वपाको पहिलो प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीभित्रको शक्ति सन्तुलनको तस्वीर पनि उजागर गर्ने देखिएको छ।












