नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि भन्दै पठाएको ७ बुँदे सहमति देउवा र शेखर समूहबाट जवाफ नआएपछि सार्वजनिक गरेका हुन् ।
प्रस्तावमा विशेष महाधिवेशनको वैधानिकतालाई आत्मसात् गर्दै असन्तुष्ट पक्षलाई १५ औँ महाधिवेशनको बन्द सत्रमा आफ्ना एजेन्डाहरू राख्ने ठाउँ दिने र केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने ‘विशेषाधिकार’ अन्त्य गर्ने जस्ता क्रान्तिकारी सर्तहरू अघि सारिएका छन् ।
यस्तो छ सात बुँदे प्रस्ताव
सार्वजनिक नगरी आन्तरिक राखिएको यस्तो थियो जेठ १६ मा पठाइएको परिमार्जित ७ बुँदे प्रस्ताव
१. विधानको १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात् गर्दै विमतिका सबै विषय बिर्सिएर एकताबद्ध भएर अघि बढ्ने ।
तर विशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतिलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औं महाधिवेशनको बन्द सत्रमा मौखिकरलिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने ।
विशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनै पनि सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक व्यवहार नगर्ने ।
२. महाधिवेशन तयारी क्रमको पहिलो चरण क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने ।
(पार्टी विधानमा विगतदेखि नै रहेको यस सम्बन्धी व्यवस्थाबारे रहेका अष्पस्टतालाई स्पष्ट गरेर अघि बढ्ने)
३. पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केही अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने ।
४. विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित संख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने । कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने ।
(तर महाधिवेशनमा स्वतत् भाग लिन पाइने परम्परा अन्त्य गरी केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने ।)
५.पन्ध्रौं महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने ।
६. केन्द्रीय समितिको अंग रहनेगरी बैठकबाट १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने ।
७. भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापति नै अथवा पदाधिकारी या उहाँहरूको चाहना र योग्यता अनुरूपको जिम्मेवारी प्रदान गर्ने ।












