सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतको दोस्रो कार्यकालका अध्यक्ष मधुवन विसीले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । महासंघ सुर्खेतले आइतवार आयोजना गरेको पत्रकार सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा विसीले दोस्रो कार्यकालको अध्यक्ष पदको पदभार ग्रहण गर्नुभएको हो ।
पहिलो कार्यकालका अध्यक्ष सुशील शर्माले दोस्रो कार्यकालका अध्यक्ष विसीलाई माइन्युट हस्तान्तरणसमेत गर्नुभयो । अध्यक्ष विसीसँगै सहसचिव गीता थापा र सदस्य मानबहादुर खड्काले समेत दोस्रो कार्यकालको पदभार ग्रहण गर्नुभएको छ । महासंघ सुर्खेतको गत निर्वाचनमा बराबर मत ल्याएपछि अध्यक्ष, सहसचिव र सदस्य पदको कार्यकाल बाँडिएको थियो । अध्यक्ष सुशील शर्मा, सहसचिव नवीन सुवेदी र सदस्य अमर कार्कीले पहिलो कार्यकाल सम्हालेका थिए ।
उहाँहरुको कार्यकाल शनिवार सकिएपछि दोस्रो कार्यकालको जिम्मेवारी अध्यक्षमा विसी, सहसचिवमा थापा र सदस्यमा खड्काले सम्हाल्नुभएको हो । अध्यक्ष पद सम्हालेपछि विसीले महासंघको दोस्रो कार्यकालमा पत्रकारहरुको हकहितको पक्षमा रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले अग्रजहरुको सल्लाह सुझाव अनुसार मर्यादित पत्रकारिताका लागि महासंघले आफ्ना गतिविधिहरु संचालन गर्ने उल्लेख गर्नुभयो ।
यसैविच सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने १० जना पत्रकारलाई पुरस्कृत गर्नुका साथै सुर्खेतको पहिलो पत्रिका जुनकिरीका संस्थापक जनकराज शर्मालाई सम्मानित गरिएको छ । प्रेस स्वतन्त्रता सम्मानबाट दुर्गा थापा, डम्मर आचार्य र माया थापा, विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रमेशकुमाार पाण्डे र करिश्मा चौधरी, युवा पत्रकारिता पुरस्कारबाट टेकराज केसी, नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट सुरेश आचार्य, सक्रिय पत्रकारिता पुरस्कारबाट त्रृप्ति शाही, खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्कारबाट विवशकुमार सेजुवाल र बर्ष पत्रकारिता पुरस्कारबाट ईश्वरराज अधिकारीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारिता पेशा संवेदनशील र जिम्मेवार क्षेत्र भएकोले सचेत र गम्भीर भएर कलम चलाउन सुझाव दिनुभयो । उहाँले विगतमा झैं अहिले पनि पत्रकारहरु असुरक्षित हुनुपर्ने अवस्था रहेको भन्दै नयाँ र परिवर्तनको नाममा लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि वितृष्णा फैलाउने काम भइरहेको बताउनुभयो । त्यस्ता कार्यलाई निरुत्साहित गर्ने काम पत्रकारहरुको भएको उहाँको भनाइ छ ।
साथै पत्रकारका कलमलाई सुदृढ र सुरक्षित बनाइ जनमत सिर्जना गर्र्ने भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो । सो अवसरमा सुर्खेतको पत्रकारिता नामक पुस्तक समेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, पुरस्कृत पत्रकार दुर्गा थापा र सुर्खेतका पहिलो पत्रिकाका संस्थापक जनकराज शर्माले आ—आफ्नो भनाइ राख्नुभएको थियो ।












