सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित एसआई ट्रेड एण्ड सप्लायर्सले शनिबार भव्य रूपमा ‘मिट एण्ड ग्रिट २०८३’ कार्यक्रम सम्पन्न गरेको छ। सिद्धार्थ होटल, सुर्खेतमा आयोजित कार्यक्रममा एसआई पावर ब्रान्डका विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै ग्राहक सम्मान, अवार्ड वितरण र हेल्पिङ फण्डबाट सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रममा एसआई ट्रेड एण्ड सप्लायर्सले गत वर्ष घोषणा गरेको हेल्पिङ फण्डमार्फत विभिन्न रोग तथा दुर्घटनाका कारण उपचाररत दुई जना ग्राहकलाई आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले ग्राहकलाई सामान खरिद गर्दा दिँदै आएको प्लास्टिक ब्यागको प्रयोग कटौती गरी बचत भएको रकमबाट उक्त फण्ड स्थापना गरेको थियो। पहिलो वर्षमै फण्डमा रु. १ लाख संकलन भएको एसआई ट्रेड एण्ड सप्लायर्सका सञ्चालक इन्द्र बहादुर खड्काले जनाएका छन्।
कार्यक्रममा उत्कृष्ट ग्राहक तथा व्यवसायीलाई विभिन्न विधामा सम्मानसमेत गरिएको छ। यस वर्षको टप सेल अवार्ड समिर अटो पार्ट्सले प्राप्त गरेको छ भने बेस्ट पेयमेन्ट अवार्ड पौडेल अटो पार्ट्सलाई प्रदान गरिएको छ। त्यसैगरी एसआई पावरका उत्पादनहरूको उत्कृष्ट बिक्री गर्ने तथा अन्य विभिन्न उत्पादनको बिक्रीमा उल्लेखनीय योगदान पुर्याउने व्यवसायीलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कर्णाली प्रदेशभरबाट पाँच सयभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रममा गुणस्तरीय वस्तु तथा सेवासम्बन्धी विभिन्न जानकारीमूलक सेसन सञ्चालन गरिएको थियो। सहभागीहरूलाई नयाँ उत्पादन, बजार प्रवृत्ति तथा ग्राहक सेवासम्बन्धी जानकारी प्रदान गरिएको छ।
एसआई ट्रेड एण्ड सप्लायर्सका सञ्चालक इन्द्र बहादुर खड्काले स्थानीय बजारमा गुणस्तरीय सामग्रीको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ उत्पादन सार्वजनिक गरिएको बताए। ग्राहक र सप्लायर्सबीचको विश्वास तथा सशक्त सम्बन्ध नै व्यवसायिक सफलताको आधार भएको उल्लेख गर्दै उनले प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
उनले आगामी दिनमा पनि ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार, नवीन उत्पादन र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए।




