Karnali Media
२०८३ साउन ३१ , आइतबार

जानेका हुनुपर्ने ठाउँमा उरन्ठेउला केटाहरू छन्, देश बर्बाद हुँदैछ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू.. । यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् ? ओहो । त्यो भन्दा बढी नभनु,’ ओलीले भने, ‘देश बर्बाद हुँदैछ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’

विगतको संसद् भंग गरेर असंवैधानिक सरकारले चुनावको नाटक गरेका कारण यस्तो अवस्था आइलागेको उनले बताए । ‘संसद् भंग गरेर एउटा विकृत ढंगले, अनधिकृत ढंगले असंवैधानिक सरकारले चुनावको नाटक गर्‍यो,’ उनले भने ।


अर्को प्रसंगमा ओलीले सामाजिक सञ्जालमा एमालेविरुद्धका प्रचारवाजीको विरोध गर्न कार्यकर्तासँग आग्रह गरे । सामाजिक सञ्जालमा आउने गालीबेइज्जतीको डरले नबोल्दा एमालेले हार्नुपरेको पनि उनले टिप्पणी गरे ।

‘दुनियाँमा खुकुरी लिएका भरमा भिक्टोरिया क्रस पाउने हामी, ज्यान फालेर लडेर विश्वव्यापी वीर गोर्खाली बन्ने हामी, अनि फेसबुकमा स्टाटस लेखेर हामीलाई हराउने ?,’ ओलीले प्रश्न गरे, ‘अनि फेसबुकको स्टाटसमा छुन नसकेर डिसलाइक पनि गर्न नसक्ने, लाइक पनि गर्न नसक्ने, कमेन्ट पनि गर्न नसक्ने, सेयर पनि गर्न नसक्ने हामी । अनि हार्ने ।’

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार