काठमाडौँ । रसुवाको टिमुरे र स्याफ्रुबेसीलगायत क्षेत्रमा आएको बाढीपछि नेपाली सेनाले चारवटा हेलिकप्टरसहित खोज तथा उद्धार कार्य तीव्र बनाएको छ। सेनाले बुधबार पछिल्लो समयसम्म टिमुरेबाट चार र स्याफ्रुबेसीबाट तीन गरी सात जनाको उद्धार गरेको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रशासनसँगको कुराकानीमा चारवटा हेलिकप्टर टिमुरे, स्याफ्रुबेसी, मैलुङ र त्रिशूली क्षेत्रमा परिचालन भइरहेको जानकारी दिए।
उनका अनुसार प्रभावित क्षेत्रमा स्थलमार्गबाट समेत सैनिक जनशक्ति परिचालन गरिएको छ। उद्धारमा खटिएको सैनिक जनशक्तिको यकिन संख्या भने तत्काल उपलब्ध भइसकेको छैन।
‘चारवटा हेलिकप्टर टिमुरे, स्याफ्रुबेसी, मैलुङ र त्रिशूली क्षेत्रमा परिचालन भइरहेका छन्,’ सेनाका प्रवक्ता बस्नेतले प्रशासनसँग भने, ‘धुन्चे र त्रिशूलीबाट हाम्रो जनशक्ति पूर्ण रूपमा परिचालन भएको छ।’
काठमाडौँको २० सदस्यीय मेडिकल टोली त्रिशूलीमा खोज तथा उद्धारसँगै सम्भावित घाइतेको उपचारका लागि सेनाले काठमाडौंस्थित वीरेन्द्र अस्पतालबाट २० सदस्यीय मेडिकल टोली त्रिशूली पठाएको छ।
प्रवक्ता बस्नेतका अनुसार उक्त टोली त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रको क्याम्पमा परिचालित छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्वास्थ्य सेवा तथा उद्धारमा टोली प्रयोग गरिनेछ।
सेनाले धुन्चे र त्रिशूलीमा उपलब्ध जनशक्तिलाई पनि प्रभावित क्षेत्रमा परिचालन गरेको छ। सडक तथा अन्य पूर्वाधारमा बाढीले क्षति पुर्याएका कारण हवाई र स्थल दुवै माध्यमबाट खोज तथा उद्धार भइरहेको छ।
सात जनाको उद्धार
पछिल्लो विवरणसम्म सात जनाको उद्धार गरिएको छ। यद्यपी उद्धार गरिएका व्यक्तिहरु धेरै संख्यामा रहेको बताइएको छ । तीमध्ये चार जनालाई टिमुरे र तीन जनालाई स्याफ्रुबेसी क्षेत्रबाट उद्धार गरिएको हो।
बाढीबाट टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा तुलनात्मक रूपमा बढी क्षति पुगेको छ। तर मानवीय क्षतिको यकिन विवरण भने आइसकेको छैन। प्रारम्भिक विवरण संकलन भइरहेको र उद्धार कार्यसँगै प्रभावित क्षेत्रको वास्तविक अवस्था यकिन गर्ने काम जारी रहेको बताइएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि सरकारी संयन्त्र परिचालन
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्देशनपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि विभिन्न निकाय परिचालन गरेको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको तत्काल खोज तथा उद्धार गर्न तथा भोटेकोशी र त्रिशूलीको तल्लो तटीय क्षेत्रका जोखिमयुक्त बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन र विपद् व्यवस्थापनसम्बन्धी संयन्त्र परिचालन भएका छन्।
सरकारले बाढीबाट थप प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह गरिरहेको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नसमेत आग्रह गरिएको छ।
आवश्यकताअनुसार थप हवाई उद्धार गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले बाढीपछिको समग्र अवस्थाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्। बैठकमा प्रभावित क्षेत्रको क्षति, खोज तथा उद्धारको अवस्था र तत्काल चाल्नुपर्ने कदमबारे छलफल भइरहेको छ।







