सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विद्यार्थीहरूलाई एक दिने संसदीय बहस प्रशिक्षण प्रदान गरिएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना तथा युएनडिपी संसद् सहयोग परियोजनाको सहकार्यमा उक्त प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिने संसदीय गतिविधि र खुल्ला संसद्को बारेमा समेत सत्रहरू सञ्चालन गरिएको थियो । सुर्खेत बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवातमै कर्णाली प्रदेश सभा सचिवालयका शाखा अधिकृत राजेन्द्र पौडेलले प्रदेश सभाको संरचना, संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया र खुल्ला संसद्का बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।अधिकृत पौडेलले सदन भनेको जनताको सार्वभौम थलो भएकाले पनि युवा र विद्यार्थीहरूले पनि चनाखो भएर संसदीय गतिविधि प्रति चासो राख्नु पर्नेमा जोड दिए ।
‘संसद् भनेको जनप्रतिनिधिहरूको यस्तो संस्था हो, जहाँ कानुन निर्माण, नीति निर्माण तथा सरकारको कामको अनुगमन गरिन्छ’ उनले भने, ‘सरकारलाई उत्तरदायी बनाउने, बजेट पारित गर्ने र जनताको आवाज उठाउने ठाउँ भएकाले पनि तपाईँहरूले चासो दिन आवश्यक छ ।’
कार्यक्रममा डिबेट नेटवर्क नेपाल (डीएनएन)का कर्णाली प्रदेश संयोजक मनोज एमसीले विद्यार्थीहरूलाई संसदीय बहसका बारेमा प्रशिक्षण दिएका थिए । संसदीय बहसले युवाहरूमा आलोचनात्मक चेत निर्माण गर्नुका साथै समाजलाई बुझ्ने, अन्यायविरुद्ध प्रश्न गर्ने र सामूहिकतामा काम गर्न सहयोग गर्ने प्रशिक्षक एमसीले बताए ।
प्रशिक्षण पश्चात् विद्यार्थीहरूले नमुना संसदीय बहस समेत गरेका थिए । ‘यो सदन खुल्ला संसद् हुनुपर्छ भन्ने विश्वास गर्दछ’ भन्ने मोसनमा उनीहरूले सत्ता र प्रतिपक्षी बनेर बहस गरेका थिए । सत्ता पक्षले खुल्ला संसद्को अवधारण लागु गर्नुपर्ने अवधारणा राख्दै गर्दा प्रतिपक्षीले त्यसको विपक्षमा बहस गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले ‘ब्रिटिस संसदीय बहस’ प्रणालीको खुलेरै प्रशंसा गरे । छोटो समयको सिकाइमा पनि विद्यार्थीहरूले उत्कृष्ट बहस गरेको उनको भनाई थियो ।
‘अधिकांश नमुना संसदीय बैठकमा नेताहरू माथि प्रश्न नै प्रश्न उठाएको देखिन्थ्यो’ उनले भने, ‘यसमा उनीहरू स्वसंयम सत्ता र प्रतिपक्षी बनेर बहस गरे । प्रश्न मात्र होइन उत्तर पनि खोलेर ल्याएको देखियो । यो आफैमा रोचक लाग्यो ।’ सभापति खत्रीले विद्यार्थीहरूलाई संसदीय गतिविधिमा चासो र निगरानी राख्न आग्रह समेत गरे । ‘कर्णाली प्रदेश सभाले खुल्ला संसद्को अवधारण ल्याएको छ’ सभापति खत्रीले भने, ‘तपाईँहरू पनि त्यहाँ आएर हेर्न, नजिकबाट बुझ्न सक्नु हुनेछ ।’
संसद् कानुन बनाउने संस्था मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले पनि युवाहरूले संसदीय गतिविधि बुझ्न र चासो लिन आवश्यक रहेको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले बताए ।
‘लोकतन्त्र तब मात्र सुदृढ हुन्छ, जब नागरिक र संसदबीच विश्वास, संवाद र सहकार्यको सम्बन्ध बलियो हुन्छ’ अध्यक्ष रानाले भने, ‘त्यसैले तपाईँहरूको सहभागिता आवश्यक छ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य तुलसा मल्ल, युएनडिपी संसद् परियोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि क्यारीना श्रेष्ठ र सुर्खेत बहुमुखी क्याम्पस विद्यार्थी परिषद्का प्रमुख डम्बर खत्री लगायतको सहभागिता रहेको थियो ।






