Karnali Media
२०८३ असोज १३ , मंगलबार

१५ औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउँदै कांग्रेस



 काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ ।

केन्द्रीय कार्यालयको टिमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीले आज बिहान अनलाइनखबरसँग भने, ‘महाधिवेशनको नयाँ मितिबारे हामी सल्लाह गर्दैछौं, केन्द्रीय कार्यालयको टिम बसेर आज टुंगो फाइनल गर्छौं ।’

कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ ।

तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।


दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।

तर अर्का एक नेताले भने, ‘धेरै दिन होइन, एक–दुई दिन पछि सार्ने कि भन्ने विषयमा पार्टीमा अनौपचारिक छलफल भइरहेको छ ।’

संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५ औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार