सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ हजार ६२ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
दैलेखको दुल्लु नगरपालिका–४ निवासी रघुवंशी भण्डारी, कौशिक गोत्रका १३ दिने दाजुभाइहरूको पहलमा उक्त रकम संकलन गरिएको हो। गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय क्षति तथा जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको जनाइएको छ।
स्वदेश तथा विदेशमा रहेका साथै सुर्खेत, बाँके, बर्दिया र कैलालीलगायत विभिन्न स्थानमा छरिएर रहेका दाजुभाइहरूको सहकार्यमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
खगेन्द्र भण्डारी र नरबहादुर भण्डारीको नेतृत्वमा संकलित उक्त रकम सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटामार्फत राहत कोषमा हस्तान्तरण गरिएको छ।
राहत रकम हस्तान्तरणपछि अगुवा खगेन्द्र भण्डारीले विपद्का कारण देशका विभिन्न क्षेत्रमा क्षति पुगेको अवस्थामा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले दाजुभाइहरूबीच सहकार्य गरी रकम संकलन गरिएको बताए। भण्डारीका अनुसार विपद्मा परेका परिवारलाई केही राहत पुगोस् भन्ने मानवीय भावनाका साथ सहयोग गरिएको हो।






