सुर्खेत । काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइ मेघगर्जनसहित पानी परेको हो ।
मौसमविद् समिर श्रेष्ठका अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो ।
यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
प्रि-मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । यसपालि मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।
संवाददाता । आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित