Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश



सुर्खेत । संघीय सरकारले आगामी आर्थिक वर्षमा पनि राष्ट्रिय गौरवको कर्णाली करिडोरको निर्माण एवं स्तरोन्नति कार्यलाई निरन्तरता दिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कर्णाली करिडोरको बाँकी ट्रयाक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्यलाई निरन्तरता दिएको हो । विगत नौ वर्षदेखि कर्णाली करिडोर निर्माण कार्य सञ्चालनमा छ । करिडोरको निर्माण कार्य सम्पन्न हुन आठ किलोमिटर मात्र बाँकी छ ।

नीति तथा कार्यक्रममा सरकारले सुर्खेतको भेरीगङ्गा नगरपालिकाको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त स्थानमा विमानस्थल निर्माण गर्न सैद्धान्तिक अनुमति दिएको थियो । रामघाटमा विमानस्थल निर्माण सङ्घीय सरकारको नयाँ कार्यक्रम हो ।


अघिल्ला सरकारका नीति तथा कार्यक्रममा भेरीगङ्गाकै मदानेचौरमा नयाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थल स्तरोन्नतिका कार्यक्रम समावेश गरिएका थिए तर वर्तमान सरकारले यी दुई स्थानको साटो रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको तयारी गरेको हो ।

त्यस्तै, सरकारले नीति तथा कार्यक्रममार्फत राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको हेडबक्र्स तथा पावरहाउस निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार