सुर्खेत । आज वीरेन्द्रनगर नगरपालिका ६ का नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै नवनिर्वाचित वडा अध्यक्ष जनक बहादुर रावलले उत्कृष्ट काम गर्ने टोल बिकास संस्थालाई आफ्नै खर्चबाट बार्षिक २५ हजार, सर्वोत्कृष्ट कर्मचारी र स्वयमसेविकालाई ५ हजार १ सय नगदले पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । वडा कार्यलयमा आज भएको स्वागत तथा पदभार ग्रहणको औपचारिक कार्यक्रममा निवर्तमान वडा अध्यक्ष तथा सदस्यहरु बाट नवनिर्वाचित प्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन ।
वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत गर्दै निवर्तमान वडा अध्यक्ष मोतिप्रसाद कडेलले फोहोर व्यवस्थापन, सवारी साधन पार्किङ प्रमुख चुनौती रहेको र यसलाई समाधानको लागि लाग्नुपर्ने बताउनुभयो । यस्तै उहाँले आफ्नो कार्यकालमा पनि यसका लागि धेरै प्रयास भएको बताउनुभयो । फोहोर व्यवस्थापनका लागि वडा बासीले आफै रातो डस्टबिन (बाल्टिन) किनेर वडामा आएपछी अहिलेपनी वडाबाट हरियो दस्टबिन दिएर पठाउने उहाँको भनाई छ ।
यस्तै पदभार ग्रहण गर्दै वीरेन्द्रनगर नगरपालिका ६ का नवनिर्वाचित वडा अध्यक्ष रावलले प्रमुख चुनौती रहेको फोहोर व्यवस्थापनका लागि टोल समिति सङ्ग समन्वय गरेर स्वच्छ तथा हराभरा वडा बनाउने, ट्राफिक व्यवस्थापनका लागि पहल गर्ने, निर्माण भैरहेका भौतिक संरचनालाई निरन्तरता र नयाँ योजनाहरु दिगो बनाउने, लागूऔषध दुर्वेसनि नियन्त्रण गर्ने बताउनुभएको छ । आजै उहाँले पहिलो सेवाग्राहीलाई नागरिकता सिफारिसमा हस्ताक्षर गरेर आफ्नो कामको सुरुवात गर्नुभएको छ ।
संवाददाता । बुधबार, जेठ ११, २०७९ मा प्रकाशित