१७ असार, सुर्खेत – इन्धनको मूल्य एक्कासी बढेपछि खाद्यान्न, औषधि र सेवामा गरिएको मूल्यवृद्धि घटाउन तथा उपभोक्तालाई राहत दिन देशभर एकैसाथ नियमन निकायहरूले सयुंक्त रुपमा बजार अनुगमन गरेका छन् । सुर्खेतमा पनि आज बजार अनुगमन गरिएको छ ।वीरेन्द्रनगरमा रहेका पेट्रोल पम्प, सुनचाँदी पसल, नास्ता पसल, मानिकेज लगायतका पसलहरुको अनुगमन गरिएको हो । बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरेर जानकारी दिएका थिए ।
सोही निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, गुणस्तर तथा नापतौल बिभाग, नेपाल आयल निगम, जिल्ला प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायत संघ, प्रदेश र स्थानीय तहका सबै संयन्त्र प्रयोग गरेर गरिएको बजार अनुगमनका क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भए/नभएको, मूल्य सुची राखे/नराखेको, पसल दर्ता गरे/नगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरे/नगरेको, उपभोग्य म्याद समाप्त भए/नभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे/नरहेको आदी जस्ता कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझावहरु दिईएको तथा नापतौल मेसिन, पेट्रोलियम पदार्थको गुणस्तर मापन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयले निरन्तर अनुगमन गरिरहेको र आज मन्त्रालयको निर्देशनमा बजार अनुगमन गरिएको हो । उनले भने ‘आज देशभर एकसाथ अनुगमन भैरहेको र सुर्खेत आगामी दिनमा पनि अनुगमन हुनेछ । उपभोक्तालाई मूल्यवृद्धि तथा कालोबजारीबारे सचेतना जगाउने र व्यापारीलाई नियम तथा मापदण्ड अनुसार सामाग्री बिक्री बितरण गर्न सचेत बनाउने बजार अनुगमनका गरिएको हो।’
अनुगमन गर्दा पाईएका म्याद गुज्रेका र अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।

संवाददाता । शुक्रबार, असार १७, २०७९ मा प्रकाशित