३० असार, सुर्खेत । आर्थिक वर्षको असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा धेरै जबर्जस्ती करणी सम्बन्धि मुद्दा परेका छन् ।
बिहिवार उच्च अदालत सुर्खेतले पत्रकारहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गर्दै फौजदारी मुद्दामा सबैभन्दा बढी जबर्जस्ती करणीमा १ सय ७२ थान मुद्दा परेको, ज्यान सम्बन्धि मुद्दामा १ सय ८ थान र तेस्रोमा भने लागू औषध सम्बन्धि मुद्दा ९१ थान परेको जनाएको छ ।
यस्तै, देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९ थान, सम्बन्ध विच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन् ।
उच्च अदालत सुर्खेतद्वारा चालु आर्थिक वर्ष २०७८/०७९ को असार २९ गतेसम्ममा नै वार्षिक कार्य योजनाको लक्ष्यभन्दा १ सय ७१ प्रतिशत बढी मुद्दा फछ्र्योट भएको उच्च अदालत सुर्खेतका न्यायाधीश माधव प्रसाद पोख्रेलले जानकारी दिए ।
चालु आ.व.मा २०७९ असार मसान्त सम्ममा ५६१ थान मुद्दा फछ्र्योट गर्ने वार्षिक मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकोमा असार २९ गतेसम्ममा नै ७ सय ६९ थान मुद्दा फछ्र्योट भएको पोख्रेलको भनाई छ ।
चालु आर्थिक वर्षमा गत वर्ष फछ्र्योट हुन बाँकी रहेका २ सय ६५ थान र यस आ.व.मा दर्ता भएको ७ सय ५६ थान गरी जम्मा १ हजार २१ थान मुद्दा संख्या रहेकोमा ७ सय ६९ थान अर्थात जम्मा मुद्दा संख्याको ७५.३२% मुद्दा फछ्र्योट भएको छ ।
यस अदालतमा हाल २ वर्ष नाघेका कुनै मुद्दा फछ्र्योट हुन् बाँकी छैनन् भने गत वर्ष फछ्र्योट हुन नसकी बाँकी रहेका मुद्दा २ सय ६५ थान मुद्दा मध्ये अब ८ थान मात्र मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । फछ्र्योट हुन बाँकी रहेका २ सय ५२ थान मुद्दा मध्ये अधिकांश मुद्दा ६ महिना भित्र दर्ता भएको मुद्दा नै रहेका छन् ।
गत आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७३३ थान मुद्दा संख्या रहेकोमा ४६८ थान अर्थात् ६३.७५ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो भने यस वर्ष गत वर्ष फछ्र्योट हुन् नसकी बाँकी रहेको मुद्दा संख्या २६५ र यस आर्थिक वर्षमा दर्ता भएका ७५६ गरी जम्मा १०२१ मुद्दा रहेकोमा ७५.३२ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । अर्थात गत वर्ष भन्दा यस वर्ष १२ प्रतिशत बढी मुद्दा फछ्र्योट भएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रुपमा निकै बृद्धि भए पनि दर्ताको अनुपातमा फछ्र्योट दर निकै बढी रहेकोले पुराना मुद्दा बाँकी नरहेका हुन् ।
संवाददाता । बिहिबार, असार ३०, २०७९ मा प्रकाशित