काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेको बताएका छन् । इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्न लागेको उनले बताए ।
आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले यो निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन् । राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु ।’
उनले इलाम– १ बाट चुनाव जित्ने जित्ने विश्वास समेत व्यक्त गरे । अहिले पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।’
दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै उनले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए । मुलुकका लागि वृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन, तर समाजवादी रूपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताउदै वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिह्न कुनै सिद्धान्त होइन,’ उनले भने ।
संवाददाता । आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित