सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो ।
खड्का सोही क्षेत्रबाट ०७४ मा एमालेका धुर्वकुमार शाहीसँग पराजित भएका थिए । शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । खड्का बाँके क्षेत्र नं.३ बाट पनि सिफारिस भएका छन् ।
यस्तै समानुपातिक तर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको क्षेत्रीय सदस्य मोहन रानाले बताए । यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर–१ को (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेश सभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ । यस्तै भुपेन्द्र चन्द, भुपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ। समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलमति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ ।
संवाददाता । बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित