सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा आज शुक्रवार सप्तमीका दिन गौरा भित्र्याइँदैछ । महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।
तागाधारी पुरुषले जनै धारण गरेजस्तै सुदूरपश्चिमका महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौरा पर्वले सुदूरपश्चिममा रौनकता छाएको छ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवीअर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ ।
त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकारी जयानन्द भट्टले बताए । यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेँडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी ५ अन्नलाई ‘बिरुडा’ भनिन्छ ।
४ दिनसम्म मनाइने गौरा पर्व तिथि घटबढका कारण यसपालि ३ दिन मात्रै हुने भएको छ । दोस्रो दिन मनाइने ‘नानी गौरा’ पनि बिहीवारै मनाइएको छ ।
व्रतालु महिलाहरूले बिहीवारै भिजाएका बिरुडा (५ प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धोएका छन्, यसलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरूको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका फुनडी विष्टले बताइन् ।
बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ । गौराको पहिलो दिन दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठो मसिनो खानुका साथै बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।
दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौराको समयमा सामूहिकरूपमा देउडा, ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेल खेलिने गर्दछन् ।
संवाददाता । शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित