सुर्खेत । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जुम्लाको कनका सुन्दरी गाउँपालिकामा सात र प्युठानमा तीन र सल्यानमा एक जनाको मृत्यु भएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अुनसार कनकासुन्दरी गाउँपालिका–५ को बारकोटेबाडामा गएको पहिरोमा पुरिएका पाँच जनाको सनाखत भएको छ ।
सनाखत भएका पाँचै जना एकै परिवारका हुन् । प्रहरीका अनुसार कनकासुन्दरी–५ का गणेशबहादुर शाहीको घरमा खसेको पहिरोमा शाहीसहित तीन छोरा र बुहारीको मृत्यु भएको छ । यस्तै, बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । दुवैको सनाखत भने हुन बाँकी छ ।
पहिरोले पुरेको स्थानबाट प्रहरीले दुई जनालाई उद्दार गरेर उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाएको छ ।
यस्तै, प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । बाँकी तीन जनाको भने खोजी भइरहेको छ ।
माण्डवी गाउँपालिका–४ फरन्डीमा हिजो शुक्रवार बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।
यता, सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका–८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी मृत्यु भएको हो। शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।










