सुर्खेत । निर्वाचन आचार सहिंता उलंघनलाई गम्भिर रुपमा लिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन्। आचार सहिंता जारी हुन वित्तिकै जिल्लामा राजनितिक दलहरुसहितको बैठक राखेर निर्वाचन आचारसहिंता पालना गर्न लिखित प्रतिवद्धता गराइएको बताए।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा सबैले आफ्नो कर्तव्य बोध गरी निर्वाचन आयोगले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न उनले आग्रह गरे। निर्वाचन आयोगले मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रजिअ रिजालले सबै नागरीकले निर्वाचनलाई स्वच्छ र निष्पक्ष तवरले सम्पन्न गर्न आचार सहिंता विपरीत कामहरु भएको देखे सम्बन्धित निकायलाई खबर गर्न पनि अनुरोध गरे।
साथै सञ्चार माध्यमहरुलाई पनि निर्वाचनमा मतदाता शिक्षा लगायतका सामाग्री प्रसारण गरि निर्वाचनमा सहयोग पुर्याउन उनले आव्हान गरे। पछिल्लो समय केही उम्मेदवारहरुले आचार सहिंता उलंघन गरेको घटना आईरहेको बताउदै उनले यस्ता घटना रोक्न सबै लाग्नुपर्ने बताए।
संवाददाता । बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित