सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर सुर्खेतका बिभिन्न मतदान केन्द्रहरुको सयुक्त अनुगमन गरिएको छ । शनिबार प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुरक्षा निकायको टोलीले पश्चिम सुर्खेतका बिभिन्न मतदान केन्द्रहरुको सयुक्त अनुगमन गरेको हो ।
निर्वाचन नजिकिदै गर्दा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सुर्खेतको पन्चपुरी नगरपालिका, बराहाताल गाउँपालिका र चौकुने गाउँपालिकाका बिभिन्न मतदान केन्द्रहरुको अनुगमन गरिएको हो । जिल्लामा मतपत्र प्राप्त भैसकेको र अहिले मतदान केन्द्रको अनुगमनमा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुुसार सुर्खेतमा २ सय ९३ मतदान केन्द्र र १ सय ३९ मतदान स्थलहरु रहेका छन् । जसमध्ये अतिसंवेदनशिल स्थलहरु जहाँ संचारको पहुच छैन त्यस्ता ठाउँहरुमा सुरक्षा व्यवस्था बढाउने र मंसिर १ गतेसम्म मतदान अधिकृतहरुलाई सबै मतदान केन्द्रमा पुर्याउने बताए ।
यस्तै, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मतदान केन्द्रको अवस्था, मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था र सुरक्षा अवस्था कस्तो छ ? र निर्वाचनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे सयुक्त अनुगमन गरिएको बताए । अनुगमनका क्रममा देखिएमा समस्याहरुलाई समाधान गर्न स्थानिय निकायसंग पहल गरेको उनले जानकारी दिए । अनुमनका क्रममा केही उम्मेदवारहरुले आचारसहिंता पालना नगरी प्रचारप्रसार गरेको पाईएकोमा उनिहरुलाई आचारसहिंता पालना गर्न मौखिक निर्देशन दिएको बताए ।
अनुगमनमा जिल्ला न्यायधीस बिष्णुप्रसाद अर्याल, प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसे, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम बहादुर बिष्ट, रक्तकाली गण सुर्खेतका एसपी बिमल डाँगी साथै राष्ट्रिय अनुुसन्धान कार्यालय सुर्खेत र पत्रकारहरुको सहभागिता रहेको थियो ।
संवाददाता । आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित