सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यमा ४ जना सांसद निर्वाचित भएका छन् । जसमा तिन जना गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार र एक जना नेकपा एमालेका उम्मेदवार रहेका छन् । हालसम्मको मतगणना अनुसार ४ जना प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेमा दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेपाली काँगे्रसका उम्मेदवार पूर्ण बहादुर खत्री, जाजारकोट क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार बेद राज सिंह र जाजारकोट कै प्रदेश सभा (ख) बाट राजिव विक्रम शाह र जुम्ला क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएका छन् ।
दैलख क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा गठबन्धनबाट काँग्रेसका उम्मेदवार पूर्णबहादुर खत्रीले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । उनले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् । रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सरकारमा नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिएका थिए । यद्यपि माओवादीले उनको सांसद पद खोसिदिए पनि उनी एमालेमै बसेका थिए । विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन् । नेविसंघ दैलेखको संस्थापक खत्री नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजना संघमा समेत आबद्ध छन् । ३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।
जाजरकोट प्रदेश सभा (ख) मा निर्वाचित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्।
यस्तै, जाजारकोट क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा विजयी भएका गठबन्धनबाट नेपाली काँगे्रसका उम्मेदवार बेद राज सिंहले १८ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका छन् ।
जुम्ला प्रदेश सभा (ख) मा प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया पराजित भएका छन् । उनलाई एमालेका युवा नेता टेकराज पछाईले १ हजार ९३ मतले पराजित गरेका हुन् । २० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईको पक्षमा ७ हजार ८१५ मत आएको छ ।
संवाददाता । बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित